० एक महिनाभन्दा बढी समयदेखि किसान आन्दोलन भइरहेको छ । किसानका माग सम्बोधन गराउनुभन्दा जनता समाजवादी पार्टी आन्दोलनको विरूद्धमा देखिएको छ नि?
— किसानको नाममा भइरहेको आन्दोलनमा जसपाले कहाँ–कहाँ दमन ग¥यो त्यसको तथ्य पनि देखाउनुपर्छ । किसानको खोल ओढेर मधेश प्रदेशलाई द्वन्द्वमा धकेल्ने समूहको आन्दोलन हो । वास्तविक किसानलाई बदनाम गर्ने, किसानको नाममा तोडफोड गर्ने, जनता र जनप्रतिनिधि कुट्ने, सरकारी गाडी तोडफोड गर्ने र शहीदको बलिदान दिवस विथोल्ने एउटा जमातको कार्यक्रम हो । उहाँहरूले किसानलाई लज्जित गर्ने काम गरिरहनुभएको छ । जो किसान यो देशका अन्नदाता हुन्, जसले देशलाई पाल्छ, तिनीहरूलाई आन्दोलनको नाममा बदनाम गर्न खोजिँदैछ । अहिलेसम्म यो देशमा किसान उपेक्षित छन्, त्यसको मुक्तिको सवाल राखेर आफ्नो पार्टीगत स्वार्थ पूरा गर्ने मात्रै प्रयास भइरहेको छ । हाम्रो मधेश प्रदेश सरकारबाट कुनै किसिमको दमन गर्ने काम भएको छैन । सबैलाई ज्ञात कि अहिलेसम्म प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेश मातहत जिम्मा आएको छैन ।
० भनेपछि अहिले भइरहेको आन्दोलन किसानको आन्दोलन होइन?
— किसानको नाममा जनमत पार्टीले आफ्नो माइलेज लिने, अन्य व्यक्तिबाट परिचालित र पोषित समूह हो । अहिले मधेश प्रदेशको सरकारलाई मात्रै उहाँहरू गाली गर्दै हुनुहुन्छ । प्रदेश सरकारलाई मलखाद्य खरिद गर्ने अधिकार छ ?प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मा लिएको छ त ?मलखाद्य खरिद गर्ने संघीय सरकारले हो । वितरणको प्रणाली पनि छुट्टै छ । अहिलेसम्म मलखाद्य अभाव भएको थिएन । अन्तर्राष्ट्रियस्तरमै यसको अभाव छ । मलखाद्य खरिद गर्न ६÷७महिना लाग्छ । यो सरकार आएको ५÷६ महिना हुन लाग्यो । यसअघिको सरकारले मलखाद खरिद गरेको भए अहिलेको सरकारलाई सजिलो हुन्थ्यो । केपी ओलीको सरकारले मलखाद खरिद नगरेर अहिलेको यस्तो अवस्था आएको हो । त्यसकारण अहिलेको सरकारले गर्दा मलखादको अभाव भएको होइन । पहिलाको सरकारले निम्त्याएको समस्या हो । अहिलेको सरकारले समस्या समाधानका लागि लागेको छ ।
० तर जसपा अहिले त संघीय सरकारमा पनि छ, प्रदेश सरकारको नेतृत्व गर्दै आएको छ । किसानको समस्या समाधानमा जसपाको उत्तरदायित्व छैन ?
— जसपाको नाम लिएर जनमत पार्टीका नेताहरू आफ्नो हाइट बढाउन खोजिरहेका छन् । उहाँहरूको राजनीति मधेश प्रदेशमा मात्रै छ । प्रदेश सरकार र स्थानीय चोर हो भनेर आरोप लगाउने र बदनाम गर्ने काममात्र भइरहेको छ । संघीय सरकारका विरूद्ध जान हिम्मत छैन । सीके राउतजी कसैलाई भ्रष्टाचारी वा चोर भनेर हुँदैन । किमजोङको शैलीमा उहाँको प्रस्तुती छ । आफू गाडीमा जाँदा कार्यकर्ताहरूद्वारा परेड गराउनुहुन्छ । उहाँलाई मिनिकिमजोङ भन्दा हुन्छ । त्यस्ता व्यक्ति किसानकालागि आन्दोलन गर्छ भन्ने कल्पना गर्नु भ्रम मात्रै हो । किसान यो देशको पालक हो । हाम्रा अन्नदाता पालक किसानको खोल ओढेर उहाँहरू ताण्डव गरिरहनुभएको छ । कतै पनि उहाँहरूको आन्दोलनमा दमनभएको छैन । उल्टै सुरक्षा निकायले सुरक्षित गरिदिएको छ । रौतहटको गौरमा बलिदानी दिवसको दिन कार्यक्रम भाँड्नका लागि कति कार्यकर्ता थियो हेर्नुभयो होला, उहाँहरूको ४०÷५० जनामात्रै कार्यकर्ता थिए । हामीसँग पाँच सयभन्दा बढी कार्यकर्ता थिए । हामी पनि प्रतिकारमा उत्रेको भए के हुन्थ्यो ? हाम्रो मन्त्रीले संयमता अपनाउँदै बाटो परिवर्तन गरेर कार्यक्रम स्थल पुग्नु भएको थियो ।
० डा.सीके राउत कहाँबाट परिचालित छन् त ?
— सबैले हेरिरहेका छन्, यता सीके राउतका कार्यकर्ताहरू आन्दोलन गर्छ भने उता केपी ओलीजीको युवा संघ पनि साथ दिइरहेको छ । के छ सम्बन्ध वा साँठगाँठ ? सीके राउतजी पहिला भन्नुहुन्थ्यो कि यिनीहरू प्रदेशको नामाकरण गर्न सकेन, निकम्माहुन् । तर जब नामाकरण भयो त्यसमा पनि विभिन्न किसिमका अनर्गल प्रचारबाजी गर्न थाले । सीके राउतजीले भन्नुभयो कि आठ जिल्लाको मधेश प्रदेश कसरी हुन्छ, अनि एमालेका कार्यकर्ताहरू पनि त्यहीं कुरा कराउन थाले । मधेश प्रदेशलाई आठ जिल्लामा कसले खुम्च्याएको हो ? त्यहीं कांग्रेस, एमाले र माओवादीकाकारण आज आठ जिल्लामा मधेश प्रदेश खुम्चियो । जुन–जुन कार्यक्रम सीके राउतजीले गर्नुहुन्छ, त्यसको समर्थनमा एमालेको युवा संघ आउँछ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका लागि सीके राउतले के गर्नुभयो ? उहाँले अहिलेको सिर्जित घटनालाई अतिरञ्जित गरेर, किसानको खोल ओढेर मधेश प्रदेशमा ताण्डव मचाउनु खोज्नुभएको हो ।
२०७२ सालमा संविधान घोषणा हुँदै थियो, हामी सडकमा थियौं, हामी स्वायत्त मधेश प्रदेशको कुरा गरिरहेका थियौं तर उहाँले स्वतन्त्र मधेश चाहियो भन्ने कुरा उठाउनुभयो । त्यतिबेला हामीमाथि पनि आरोप लाग्यो कि मधेशीहरू विखण्डनकारी हुन्, देश टुक्र्याउन चाहन्छ । सीके राउतकै कारणले हामीलाई शंकास्पद नजरले हेरियो । सीके राउतजीले त्यो दिन अलग देशको कुरा नगरेको भए संविधानमा अलि बढी नै हाम्रो माग सम्बोधन हुन्थ्यो । जब हाम्रो आन्दोलन शान्त भयो उहाँहरू पनि चुप लागेर बस्नुभयो । हामी उहाँको कुनै कार्यक्रमको प्रतिकार गर्न चाहँदैनौं । हामी सीके राउतजीलाई भन्न चाहन्छौं कि आठ जिल्लाको मात्रै मधेश प्रदेश भयो, मधेशलाई अधिकार दिइएन त्यसका लागि हामी मिलेर लडौं र राज्य सत्तासँग अधिकार लिऔं । तर पाएको अधिकारलाई पनि उहाँले खण्डित पार्ने काम गरिरहनुभएको छ । जुन काम केपी ओलीले मधेशसँग ग¥यो, त्यहीं काम सीके राउतले गरिरहनुभएको छ । त्यसकारणले मधेशीको खोल ओढेर उहाँले जनतालाई दिग्भ्रमित पार्न खोज्नुभएको छ । किसानको नाममा माइलेज पाउँछ भनेर अगाडि बढिरहनुभएको छ । जुन मागका लागि जनताले गोली खाएका छन्, ती मागहरू पूरा गराउन हामी प्रतिबद्ध छौं ।
० तर उहाँको आन्दोलनमा किसानहरूको पनि सहभागिता देखिन्छ नि?
— कुनै पनि किसानले जनमत पार्टी जिन्दावाद भनेका छैनन् । किसानहरूले कुनै दलको झण्डा उठाउँदैन । किसानहरूले त सबैलाई आग्रह गर्छ कि समस्याहरू समाधान होस् । अहिलेसम्मको इतिहासमा किसान आन्दोलनमा कुनै पनिद लको झण्डालाई प्रवेश दिएको छैन ।
० एमसीसीकै कारण गठबन्धन भत्किने देखिन्छ नि?
— गठबन्धनको सरकारले आफ्नो साझा न्यूनतम् कार्यक्रमको अनुसार आफ्नो काम गर्छ । त्यसभन्दा बाहिरको विषय आयो भने गठबन्धनले रोक्छ । एमसीसीलाई रोक्नका लागि संसद बैठक स्थगित भएको होइन । केही ऐनहरू संशोधनगर्नका लागि स्थगित भएको हो । यो गठबन्धन भत्किने वा टुट्ने कुनै कुरा छैन । यो आफ्नो साझा न्यूनतम् कार्यक्रमका साथ अगाडि बढिरहेको छ । एमसीसीबारे अहिले छलफलहरू भइरहेका छन् । यसकै कारण गठबन्धन भत्किने अवस्था आउँदैन । सहमतिमै केही निर्णय हुन्छ ।